लिम्बुवान–गोर्खा सम्झौता र वर्तमान स्थिति Facebook164 Twitter Pinterest Tumblr Reddit Share मोहनसिंह थेबे | ४८ हप्ता अघि साउन २२, २०७६ लिम्बुवानको इतिहास पुरानो छ। लिम्बुवान क्षेत्रको वर्णन विभिन्न प्राचिन पुस्तकहरूमा पनि उल्लेख भएको पाइन्छ। तत्कालीन अवस्थामा यस क्षेत्रका प्रमुख राजाहरूमा पर्वते, मयलकेतु, हर्वाहाङ, साम्योकहाङ, कुदुङजापा आदि थिए। पर्वते र मयलकेतुहरूको सम्बन्ध तत्कालीन भारतको सन् ३१७ तिरका चन्द्र गुप्त तथा चाणक्यहरूसँग आउँछ। इतिहासकार इमानसिंह चेम्जोङका अनुसार लिम्बुवान छैटौं शताब्दीमा तत्कालीन आठ राजासँग विशाल आन्दोलन अर्थात् युद्धपछि स्थापना भएको हो। यसको स्थापनापछि दश सरदारहरूको नेतृत्वमा उनीहरूले ओगेटेका भूमिलाई १० भागमा विभाजन गरी संघीय गणतान्त्रिक पद्धतिअनुरुप राज्य गरेका थिए।ती दश थुम र राजाहरू (१) तम्बर– साम्लुप्ली साम्बाहाङ, (२) मेवा– सिसिङेगन सेरिङहाङ, (३) याङवरक– थिन्दोलुङ खोक्याहाङ, (४) आठराई– थक्थक्सो आङ्बोहाङ, (५) फेदेन(पान्थर)– येङासो पापोहाङ, (६) इलाम (फाक्फोक)– मुङताई ची इमेहाङ, (७) फेदाप– सेङसेङगुम फेदापहाङ, (८) ताक्लुङयक (छथर)– ताक्लुङ खेवाहाङ, (९) चौबिस– सोइयाक लादोहाङ र (१०) थलायक (तेह्रथुम)– ताप्पेसु पेरुहाङ रहेका थिए।इतिहाकार प्रेमबहादुर माबोहाङको अनुसार वि.सं. ५५ सालमा लिम्बुवान स्थापना भयो। स्थापनाकालमा लिम्बुवानलाई १० थुम (भाग)मा विभाजन गरियो। उक्त १० थुमका राजाहरूमा (१) तम्बर– साम्बा स्रेङहाङ, (२) मेवा– सिसिङ्गेन, (३) याङरुप– लिन्सेहाङ, (४) पोमाजुङ(आठराई)– आक्लुफ, (५) फेदेन– पापोहाङ, (६) इलाम– लोलिमहाङ, (७) फेदाप– फेयोहाङ, (८) ताक्लुनदेन(छथर)– खेवोहाङ, (९) मिकलुक (चौबिस)– वोहाङ र (१०) चेनलुङ यक(संखुवासभा)– माई इङहाङ रहेका थिए ।यो दश लिम्बुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर समयक्रममा निम्न सात थुमहरू पुनः छुट्टाइएको देखिन्छ। ती सात थुमहरूमा (१) यासोक, (२) संखुवा, (३) सभाया, (४) जल्लारा, (५) मझिया, (६) खपन र (७) माईवा रहेका थिए।लिम्बुवानका दश राजाले राज्य सञ्चालनका लागि नियम बनाएका थिए। त्यसलाई ‘दश लिम्बुवान’ अर्थात् ‘सत्र थुम दश लिम्बुवानको नीति’ भनिन्थ्यो। यसरी लिम्बुवान स्थापना हुँदा त्यो भूमिको आफ्नै सीमा थियो। तत्कालीन सीमाअनुसार पूर्वमा टिष्टा नदी (हाल सिक्किम) र पश्चिममा सिस्वा संखुवा अरुण हुँदै सप्तकोशी, उत्तरमा तिब्वत र दक्षिण जलालगढ पर्दथ्यो।क. नेपालको मानचित्रमा वर्तमान लिम्वुवानको नक्शा (रेखा अंकित भाग)ख. प्राचीन लिम्बुवानको नक्शा यो भूमिमध्ये सन् १८१६ मा भएको सुगौली सन्धिले दक्षिणको जोगबनीदेखि जलालगढसम्मको ६२ किलोमिटर र दार्जिलिङ कालिङपोङ क्षेत्र भारतमा पर्न गयो। सिंहलिला पहाड पूर्व टिष्टासम्मको भूभाग ब्रिटिश इण्डियाले सिक्किमलाई दिएकाले उक्त भूमि सिक्किममा पर्न गयो। त्यसपछि लिम्बुवानको सीमा पूर्वमा मेची पश्चिममा ऐजन, उत्तर ऐजन र दक्षिण हाल भारतको सीमासम्म रहन पुग्यो। सुगौली सन्धि लिम्बुवान स्वतन्त्र राज्यसँग नभई वि.सं. १८३१ को लालमोहर सन्धिपछिको नेपालसँग भएको थियो।लिम्बुवान भूमि संघीय लोकतान्त्रिक पद्धतिअनुरुप सञ्चालन हुने क्रममा सोह्रौं शताब्दीतिर मोरङ राज्यमा लिम्बु साक्वादेन (सावदेन) वंशीय साङलाइङ भन्ने राजा थिए। उनी कुदुङजापाको सन्तान थिए। उनले मोरङ राज्यलाई सुदृढ गरे। उनको सन्तति विजयनारायणले मोरङको उत्तरी क्षेत्रको पहाडको समथल डाँडामा दरबार वनाएर राज्य गरे। त्यो दरबार क्षेत्रलाई पछाडि उनकै नामबाट विजयपुर भनियो। जुन अहिले सुनसरीको धरान उपमहानगरपालिकामा पर्दछ।सन् १६०९ तिर विजयपुरमा लोहाङसेन भन्ने राजा भए। त्यस्तै, बाजाहाङ, विद्याचन्द्र लिम्बुहरू पनि राजा भए। वि.सं. १८२५ तिर बुद्धिकर्ण राय राजा भए। उक्त समयान्तरमा अथिङहाङ लिम्बु पनि राजा भए। विजयपुर दरबारलाई भताभुङगे राजाको लथालिङगे दरबार भनेर पनि नेपालको इतिहासमा उल्लेख गरिएको पाइन्छ।एक समयमा लिम्बुवानलाई फेदाप पनि भनिन्थ्यो। यहाँ सात तराई या तराईको ठूलो भाग पर्दथ्यो। हालको झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह र धनुषा फेदापमा पर्दथ्यो। वि.सं. १८३१ तिर लिम्बुवानको पश्चिमी क्षेत्रवाट गोर्खा राज्य शक्तिमा उदाई राज्य बिस्तार गर्दै पूर्व लिम्बुवानसम्म पुगे। लिम्बुवानमा आइपुग्दा गोर्खा लिम्बुवानबीच घमासान युद्ध भयो । युद्ध लिम्वुवानको पश्चिम सिमाना चतरा, अरुण सभाया दोभानमा भयो। गोर्खा लिम्बुवान युद्ध १७ पटकसम्म भएको इतिहासमा पाइन्छ।यसरी १७ पटकको युद्धमा पटकैपिच्छे गोर्खा राज्य लिम्बुवानसँग पराजित भयो। तर्सथ गोर्खाले मगर सैनिक कमाण्डरहरूलाई अगाडि बढायो। मगर र लिम्बुहरू इतिहासअनुसार दाजुभाइ भएको भन्दै जाल फालियो। गोर्खाले लिम्बुवानका शासक लिम्बुहरूलाई दाजुभाइको सम्बन्ध गाँसी गोर्खाको सहराज्यमा रहन सहमति गराइ वि.सं. १८३१ श्रावण २२ मा लालमोहर सम्झौता भयो। त्यही समयदेखि लिम्बुवान गोर्खा राज्यको सहराज्य भयो।लालमोहरमा सम्झौता गर्ने प्रतिनिधिहरू गोर्खाको तर्फबाट अभिमानसिंह बस्नेत, पारथ भण्डारी, कीर्तिसिंह खवास र वली वानीया थिए । लिम्बुवानको तर्फवाट श्री श्री सुन राई, कुम राई र श्रीजंग राई थिए । यी राई लेखिनेहरू सबै लिम्बु थिए । राजाको समानार्थी राई भन्ने प्रचलन भएकाले राई उल्लेख गरिएको थियो । सोही लालमोहर मुताविक लिम्बुवानले गोर्खाको सहराज्यको रुपमा रहन गएको हो । तर, वि.सं. १९०३ सालदेखि लिम्बुवानको अधिकार कटौती हुन थाल्यो। लिम्बुवानवासीले वि.सं.२००७ सालमा कांग्रेससँग मिलेर पनि आन्दोलन गरे।राजा महेन्द्रले वि.सं.२०२१ सालमा भूमिसुधार लागु गरी लिम्वुवानको भूमिमाथिको अधिकार एकतर्फी तोडे । महेन्द्र अर्थात पञ्चायत सरकारको उक्त कार्यको घोर विरोध र आन्दोलन लिम्बुवानमा भयो । तर, सैनिकको आडमा धेरै लिम्बुवानवादीहरूको हत्या गरियो। यद्यपि, लिम्वुवानवासीले आन्दोलन जारी राखे। वि.सं.२०४६ विभिन्न पार्टीको तर्फबाट सहयोग गर्दै केन्द्रीय राज्य सत्ताविरुद्ध लिम्वानवासीहरू आन्दोलनमा होमिए। वि.सं. २०६३ सालमा आफ्नै छुट्टै संगठन स्थापित गराएर आन्दोलनमा सरिक भएका छन्।लिम्बुवान र गोर्खा राज्यबीच वि.सं. १८३१ मा भएको लालमोहर सन्धि वि.सं. २०२१ मा एकतर्फी टुटेको छ। सन्धिअनुसार लिम्बुवान भूमि स्वतन्त्र राष्ट्र बन्न सक्ने आधार छ। यद्यपि, लिम्बुवानवादीहरूले आफुलाई नेपालभित्रको स्वायत्त राज्यमा रहन चाहेको बताउँदै आएका छन्।
Read more at: http://thahakhabar.com/news/76424?fbclid=IwAR3rwwDTNFGNH4tLv8nara4M1cTcIRqEB5bmlBmsaVkZG43rdzg2HkOzLcg
Limbuwan Ghsana patra